राजनीति
सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी केन्द्र) का पुष्पकम दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एउटा मन्त्रालय लिएर केहि समय सहभागी भएपनि पछि आफुले रोजेको मन्त्रालय नपाएर सरकारबाट बाहिरिएको थियो ।
जनमत सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । प्रधानमन्त्री प्रचण्डले जनमतलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । जनमतलाई सरकारमा ल्याउनको लागि पहिले एक मन्त्रालय खाली गर्नुपर्ने हुन्छ । त्यसका लागी माओवादी केन्द्रले एक मन्त्रालय खाली गर्ने तयारी गरेको छ ।
माओवादी केन्द्रले संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने भएको छ । बालुवाटार स्रोतका अनुसार जनमतलाई सरकारमा सहभागी गराउन मोदीलाई फिर्ता बोलाउन लागिएको हो ।
“गठबन्धन सरकार छ । जनमत पहिले पनि सरकारमा सहभागी भएको थियो । पछी केहि नमिलेर बाहिरियो । जममतलाई अहिले सरकारमा सहभागी गराउन प्रधानमन्त्रीले पहल गर्नुपर्ने भएकाले माओवादीले एक जना मन्त्रीलाई फिर्ता बोलाउने भन्ने भएको छ । त्यसको लागि उपयुक्त पात्र मोदी नै हुनुहुन्छ,” बालुवाटार स्रोतले भन्यो ।
जनमत पार्टी एक/दुई दिनभित्रै सरकारमा सहभागी हुने स्रोतको दाबी छ । जनमतबाट अनितादेवी मन्त्री हुने सम्भावना रहेको छ । मन्त्री मोदीलाई फिर्ता बोलाएर जनमत पार्टीले सिफारिस गरेका सांसदलाई मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी छ ।