राजनीति
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले देशमा आन्तरिक द्वन्द्वको पुनरावृत्ति हुने खतरा बढेको बताएका छन् । उनले अहिलेको परिस्थितिलाई विश्लेषण गर्दै गएको भदौ २४ गते जङ्गी अड्डामा पदभार सम्हालेपछि सकलदर्जालाई सम्बोधन गर्ने क्रममा आन्तरिक द्वन्द्वको पुनरावृत्ति हुने खतरा बढेको बताएका हुन् ।
प्रधानसेनापति थापाले २४ भदौमा गरेको सम्बोधनको पूर्णपाठ सेनाले आइतबार वेवसाइटमा राखेपछि सो कुरा सार्वजनीक भएको हो । उनले देश आन्तरिक द्वन्द्वमा रहेको संकेत गर्दै राजनीतिक माध्यमबाट समाधान हुनु पर्ने उल्लेख गरेका छन् । सम्वादबाहेक राज्यसँग अन्य विकल्प नरहेको भन्दै प्रधानसेनापतिले कुनै समूहको नाम नलिए पनि राजनीतिक शक्तिको रुपमा अगाडी आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई संकेत गरी अभिव्यक्ति दिएको बुझिन्छ । उनले भने– ‘राजनीतिक माध्यम नै आन्तरिक द्वन्द्व समाधानको विकल्प हो ।’
उनले भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमान विरोधी तत्वविरुद्ध संविधानले सुम्पेको जिम्मेवारी सेनाले पूरा गर्ने स्पष्ट उल्लेख गरेका छन् । उनको सम्बोधनमा संकीर्ण जातिवाद, क्षेत्रीयतावाद र धार्मिक असहिष्णुताका माध्यमबाट नेपालको राष्ट्रिय एकतामाथि प्रहार भइरहेको आरोप लगाइएको छ । संविधान विरोधी र अतिवादी समूहले नेपाललाई अस्थिर र असफल बनाउने तयारी गरेको सूचना आएको पनि प्रधानसेनापति थापाले उल्लेख गरेका छन् ।
प्रधानसेनापतिले थापाले तयार पारेको १० पेज लामो सम्बोधनमा निर्वाचनपछि देश स्थिरतातर्फ अघि बढेको तर, आन्तिरिक र बाह्य सुरक्षाको अन्तरसम्बन्धका कारण आन्तरिक द्वन्द्वको पुनरावृत्ति हुने सम्भावना पनि उत्तिकै रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘राष्ट्रिय आवश्यकता महसुस भएको अवस्थामा नेपाली सेनालाई उपयुक्त निर्देशन प्राप्त हुने नै छ । सम्भावित सुरक्षा चुनौती र खतरालाई अझ सुष्म रुपले नजिकबाट नियालेर निरन्तर मूल्यांकन गर्दै विगतका अनुभवलाई समेत मनन गरी पूर्ण रुपमा सजग रहनु आवश्यक ठानेको छु । ’