राजनीति
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिदैछन ।
थापाले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको छ । मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची तय भएसँगै कोशीमा सभा कसले सञ्चालन गर्ने भन्ने विषयमा भने अन्योल सिर्जना भएको छ ।
कोशीका सभामुख बाबुराम गौतमले यस अघि नै राजिनामा दिसकेका छन् । सभामुख नभएको अवस्थामा उपसभामुखले सभा सञ्चालन गर्नु पर्ने हुन्छ । तर उपसभामुखले भने आज बिरामी बिदा लिएकी छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले थापालाई विश्वासको मत पास गराउन नदिने रणनीति लिएको छ ।
कोशीकी उपसभामुख सिर्जना दनुवारले आज आफु बिरामी भएको भन्दै प्रदेश सभा बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् । भने एमालेका ६ जना र राप्रपाका २ जना जेष्ठ सांसदहरूले पनि आफुहरु प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका छन् ।
८ जना जेष्ठ सांसदहरूको निवेदन प्रदेश सभामा दर्ता भैसकेको छ भने उपसभामुखले ५ बजेपछि गराइएको जानकारी कार्यावस्था शाखाले दर्ता भने गरेको छैन । उनले कोशी प्रदेशसभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न समेत अनुरोध गरेकी छन् । नियमावलीको नियम ११ मा अध्यक्ष मण्डलको व्यवस्था रहेको छ ।
सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधन सहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ ।
अध्यक्ष मण्डलमा कांग्रेस, एमाले, माओवादी र राप्रपाका एक-एक जना जेष्ठ सांसद रहेका छन् । जसमा एमाले र राप्रपाका सांसदले बिरामी बिदा लिएका कारण गठबन्धन दलका जेष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुन्छ ।
कोशी प्रदेश सभामा बहुमतको लागि ४७ सिट आवश्यक पर्छ । गठबन्धनका जम्मा ४७ सांसद छन् । गठबन्धन दलकै जेष्ठ सदस्यले सभा सञ्चालन गरेमा मुख्यमन्त्री थापाई अप्ठ्यारो पर्ने देखिएको छ ।
थापा साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।