राजनीति
काठमाडौं – पटकपटक जुटेर फुटेका राप्रपाबीच पुनः एकताका लागि पहल भएको छ। राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच मंगलबार एकताकै सन्दर्भमा भेटवार्ता भएको हो।
राणाको निवास महाराजगञ्जमा बिहान ८ बजेदेखि भएको वार्ता साढे ९ बजेसम्म चलेको थियो।
‘देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिइ समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीति अनुसार’ दुई नेताबीच भेटघाट र वार्ता भएको प्रेस नोटमा जनाइएको छ, ‘एकताका लागि आज भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको छ, एकता प्रक्रियालाई टुंगोमा पुर्याउन वार्ता जारी रहनेछ।’
अन्तिम पटक २०७३ मंसिर ५ मा राप्रपा नेपाल र राप्रपाबीच एकता भएको थियो। तर ८ महिना नहुँदै २०७४ साउन २२ मा थापा र राणा फुटे । राणाले अध्यक्ष थापाको व्यवहारमाथि असन्तुष्टि देखाएर पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) नामक नयाँ पार्टी बनाउने निर्णय गरे भने कमल थापाले राप्रपाको ‘ब्रान्ड’ हात पारे।