राजनीति
माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले लखौं जनता सडकमा उतार्ने उद्घोष गरेका छन्। समाजवादी मोर्चाको विराटनगरमा आयोजित कार्यक्रममा उनले हिंसारहित युद्धको लागि लाखौं जनता सडकमा उतार्ने बताए।
‘भोलि सुदूरपश्चिममा सभा गरेपछि मोर्चाको सातवटै प्रदेशमा कार्यक्रम सकिन्छ। त्यसपछि कार्यक्रम बनाएर लाखौं जनता सडकमा उतार्ने हो। दलालहरूलाई हामी जिउँदै छौं भनेर देखाउनलाई,’ उनले भने। उनले समाजवादी मोर्चाले हिंसारहित लडाइँ सुरू गरेको बताए। ‘हामीले नयाँ लडाइँ सुरु गर्दैछौं। हिंसावाला होइन। हतियार उठाउने पनि होइन। हामी हतियारविहीन युद्धको थालनी गर्दैछौं,’ उनले थपे।
उनले वर्षौं जेलनेल भोगेर पार्टी खोलेका नेताहरू अहिले रक्षात्मक हुने अवस्था आएको बताए। उनले हावाहुरीमा आएकाजस्ता पार्टीहरूका कारण पुराना पार्टीहरू रक्षात्मक हुने अवस्था आएको बताए। ‘अहिले सामाजिक सञ्जाल हेर्ने हो भने हेरिसाध्य छैन। टिकटिक एकछिन हेरौं भन्यो, एक्लै हेर्दा पनि लाज लाग्ने जस्तो। तर तिनैको संरक्षण नयाँ भनिएका दलहरूबाट हुँदैछ। हामीले जेलनेल भोगेकाहरू भने रक्षात्मक हुने अवस्था आएको छ,’ उनले भने। नेताहरूको एकअर्कालाई होच्याउने बानी बिग्रेकाले त्यस्तो बानी सुधार्नुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री दाहालले धरानमा सम्प्रादायिक मुठभेड निम्तिन नदिन आफूले धेरै मेहनत गरेको बताए। धर्म निरपेक्षको लागि लडेको पूर्वी क्षेत्रमा जातीय तथा धार्मिक द्वन्द्व फैलाउन खोजिएको उनको आरोप छ। ‘यो क्षेत्र धर्म निरपेक्षका लागि लडेको क्षेत्र हो। यही क्षेत्रमा धार्मिक अतिवाद, जातीय दंगा फैलाउन खोजियो। मैले सबै दलका नेताहरूलाई दंगा फैलिएर सात-आठ जना नेपालीको ज्यान गयो भने त्योजस्तो दुर्भाग्य केही हुँदैन भने। गृहमन्त्री र प्रहरीलाई मुठभेडको अवस्था आउन नदिन निर्देशन दिएँ। मुठभेडको स्थिति आउन नदिन निषेधज्ञा जारी गर्न परे गर्नू भनेर आग्रह गरे। दुई समूहबीच हुनसक्ने मुठभेठ रोकियो। मैले प्रधानमन्त्रीको हैसियतले धेरै जिम्मेवारी निभाएको छु,’ उनले भने।