logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलीको मर्मस्पर्शी स्टाटस : सुवास जी आर्यघाटबाट आएर आठ बर्ष अगाडिको डायरी पल्टाए…


  • राजनीति
  • बिहिबार, भाद्र २८ २०८०

सहयात्री गुमाएको पिडामा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिवंगत नेता सुवास नेम्वाङको सम्झनामा भावुक स्टाटस लेखेका छन् । बिहीबार साँझ ओलीले नेम्वाङको सम्झनामा फेसबुकमा उक्त स्टाटस लेखेका हुन् ।

‘प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो,’ ओलीले लेखेका छन् ।

मंगलबार बिहान निधन भएका नेम्वाङको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

२०७२ मा संविधान जारी हुनुअघिको घटना स्मरण गर्दै ओलीले त्यसबेलाको परिस्थितिमा नेम्वाङ हड्बडाएको पनि उल्लेख गरेका छन् ।

‘संविधानसभाका सधैँ शान्त रूपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडा रूपमा प्रस्तुत हुनुभएको थियो । दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दबाब थियो,’ ओलीले लेखेका छन्, ‘भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिँदै मलाई भेट्न आउनुभयो ।’

त्यसपछि नेम्वाङसँगको संवाद उल्लेख गर्दै ओलीले लेखेका छन्, ‘उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, तीन गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै वर्वाद हुने छ । यस्तो भयो भने त देश नै सकिन्छ ।’

अनि आफूले नेम्वाङलाई संविधान जारी गर्ने तयारीमा रहन भनेको पनि उल्लेख गरेका छन् । ‘सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनुभएको रहेछ । उहाँलाई मैले तपाईं तीन गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ,’ ओलीले लेखेका छन्, ‘हुन पनि संविधान जारी भएपछि नाकबन्दी भयो । हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !’

हेर्नुस् ओलीको स्टाटसः

प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौं । अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो । विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समुहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए । नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा रहन नदिने एउटा प्रहार खेपीरहेका थियौं । संविधानसभाका सधैं शान्त रुपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडा रुपमा प्रस्तुत हुनु भएको थियो । दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दवाव थियो । भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिंदै मलाई भेट्न आउनु भयो । उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, तीन गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै वर्वाद हुने छ । यस्तो भयो भने त देश नै सकिन्छ ।’

उहाँ असोज तीन गते संविधान जारी गर्न संसदमा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु भएनछ । ‘नआउन पनि सक्ने देखें, के गर्ने होला ?’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनु भएको रहेछ । उहाँलाई मैले तपाईं तीन गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौंला भनें ।

हुन पनि संविधान जारी भएपछि नाकबन्दी भयो । हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार