logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जापानी राजदुत चढेकाे गाडीमा नेविसंघद्धारा ढुंगा प्रहार


  • राजनीति
  • बिहिबार, भाद्र २८ २०८०

नेपालस्थित जापानी राजदूतावासले जाइका नेपालका प्रमुख ओकुबो आकिमिचुलाई लक्षित गरी ढुङ्गा प्रहार भएकोप्रति आपत्ति जनाएको छ। दूतावासले आज एक विज्ञप्ति जारी गर्दै आकिमिचुलाई लक्षित गरी ढुंगा प्रहार गर्दा उनी घाइते भएको र उनको सवारीसाधन क्षति भएको जनाएको छ।

प्रदर्शनकारीहरूले जाइका प्रमुख आकिमिचुलाई काठमाडौंमा ढुङ्गा प्रहार गरेको बताएपनि घटनाबारे दूतावासले थप बताएको छैन। प्रहरी स्रोतका अनुसार कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको र गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै बुधबार त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले विरोध प्रदर्शन गरेको थियो। विरोध प्रदर्शनका क्रममा प्रहरी र नेविसंघबीच झडपसमेत भएको थियो। झडपका क्रममा नेविसंघले हानेको ढुंगा जाइका प्रमुख आकिमिचु चढेको गाडीमा समेत लागेको प्रहरी स्रोतको भनाई छ।

दूतावासले अग्रणी भूमिका खेल्ने जाइकाका प्रतिनिधि नै यस्ता घटनामा घाइते हुनु अत्यन्तै खेदजनक भएको टिप्पणी गरेको छ। ‘लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्नु वाक स्वतन्त्रताअन्तर्गत आधारभूत नागरिक अधिकार हो तर हिंसात्मक क्रियाकलापमा उत्रनु चाहिँ अपराध हो ।’विज्ञप्तिमा भनिएको छ,‘अधिकांश नेपालीलाई थाहा भएकै कुरा हो कि जापानले नेपालमा लोकतन्त्रको स्थायित्व र विकासमा एक इमान्दार मित्रका हिसाबले सहयोग गर्दै आइरहेको छ।’

‘नेपाल सरकारले विदेशी पर्यटक तथा वाह्य लगानीलाई प्रवर्धन गरिरहेको अवस्थामा यस्ता घटनाले नेपालको प्रयत्नलाई प्रतिकूल असर पर्दछ, ’विज्ञप्तिमा भनिएको छ।

दूतावासले नेपालमा बसोबास गर्ने जापानी नागरिकलाई यस्ता घटनादेखि जोगिन सचेत गराएको छ। विज्ञप्तिमा भनिएको छ,‘हामीले नेपालमा बसोबास गर्ने जापानी नागरिकहरूलाई यस्ता घटनादेखि जोगिन सचेत गराएका छौं । त्यसैगरी नेपाल विदेशीहरूका लागि शान्तिपूर्ण तथा आकर्षक मुलुक रहिरहने कुरामा हामी आशावादी छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार