logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विवादले विभाजनतिर एस, माधव नेपालप्रति फायर खनाल


  • राजनीति
  • शुक्रबार, भाद्र २९ २०८०

नेकपा एकीकृत समाजवादी भित्रकाे विवाद छताछुल्ल भएको छ। अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टीको निर्णय सर्कुलर गरेपछि एकीकृत समाजवादीमा असन्तुष्टि चर्किएको छ ।
नेकपा एसका सममानित नेता झलनाथ खनालले माधव नेपाल खतरनाक बाटोमा लागेको भन्दै आपत्ति जनाएको छन् । पार्टी भित्र कुनै छलफल समेत नगरीकन यस्तो निर्णयले पार्टी नरहन सक्ने चेतावनी समेत दिएका छन् ।

यस्तै नेताहरूले अपेक्षा गरेअनुसारको जिम्मेवारी नपाएको भन्दै सामाजिक सञ्जालमार्फत नै असन्तुष्टि जनाइरहेका छन् । बैठकमा हुँदै नभएको निर्णय सर्कुलर गरेको भन्दै नेता नेपालले यसबारे गंभिर छलफल हुने बताएका छन् ।

भदौ ५ देखि ७ गतेसम्म ललितपुरमा बसेको पार्टी केन्द्रीय कमिटीको छैटौँ बैठक, भदौ १८ र २२ गते बसेको सचिवालयको ६५औँ र ६६ औँ बैठकले गरेका निर्णयहरू पार्टी कमिटीमा सर्कुलर गरेपछि विवाद बढेको हो ।

गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सामाजिक सञ्जालमार्फत नै आफूसँग सल्लाह नै नगरी केन्द्रीय परिषद् सदस्यमा मनोनित गरेको भन्दै असन्तुष्टि जनाएका छन् । ‘नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालय वैठकको निर्णयअनुसार मलाइ केन्द्रीय परिषदको सदस्यमा मनोनित गरेको भन्ने सूचना प्राप्त भयो,’ मनाङेले लेखेका छन्, ‘यो निर्णय र जिम्मेवारी मसंग सल्लाह गरी गरिएको होइन ।’

उनले आफू जननिर्वाचित प्रतिनिधि भएकाले धेरै समय जनतासँग प्रत्यक्ष जोडिएका काममा व्यस्त हुनुपर्ने भएकाले पार्टीको काममा समय दिन नभ्याउने भन्दै जिम्मेवारी अस्वीकार गरेका हुन् ।

‘एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होइन । त्यसैले मलाइ दिइएको जिम्मेवारी स्विकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ,’ मनाङेले फेसबुकमा लेखेका छन्, ‘युवाहरूलाई अगाडि बढाउने कुरामा मेरो सधैँ समर्थन रहन्छ । एक ब्यक्ति एक पदको नारा नारामा मात्र सीमित नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु ।’

यसअघि पार्टीको निर्णयप्रति युवा संघका पूर्वमहासचिव दीपक जीएमले पनि चर्को असन्तुष्टि जनाएका थिए । एमालेबाट विद्रोह गरेको ‘अर्को ओली’ बनाउन नभएर पार्टी बनाउन भएको उनको टिप्पणी थियो ।

यसअघि केन्द्रीय सदस्य राजु गुरुङले पनि पार्टी छाडेको घोषणा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार