राजनीति
माओवादी केन्द्रसंग एकताकाे हल्लाहरुका बिच डा. बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ । नेसपाका अध्यक्षद्वय डा. भट्टराई र महिन्द्रराय यादवबीच कुरा मिल्न छाडेकाे छ । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा उनीहरूबीच फरक बुझाइका कारण पार्टी विभाजन हुने अवस्था आएको हाे ।
माओवादी केन्द्रले पहिलो अध्यक्ष भट्टराईलाई छोडेर दोस्रो अध्यक्ष यादवका नाममा पार्टी एकता गर्ने भन्दै ३० भदाैमा पत्र पठाएपछि आन्तरिक रूपमा चलेको विवाद बाहिर आएको हाे । पार्टी विभाजन गरेर अध्यक्ष यादव र महासचिव रमेश यादव माओवादी केन्द्रमा प्रवेश गरेमा बाबुरामले सीके राउत नेतृत्वकाे जनमत, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति र प्रभु साहकाे आम जनता पार्टीसँग एकता गर्ने रणनीति लिएका छन् ।
माओवादीको चुनाव चिह्नबाट प्रत्यक्ष चुनाव जितेका यादव र समानुपातिक सांसद उमरावती देवी माओवादीमा प्रवेश गरे उनीहरूसँग मिल्ने बाबुरामकाे रणनीति रहेकाे नेसपाका नेताकाे भनाइ छ । त्यसका लागि छलफल पनि हुन थालेकाे छ । दुई सांसद गुमाएर यसै वर्ष ११ सांसद भएका अन्य तीन पार्टीसँग एकता गर्ने रणनीतिमा बाबुराम रहेकाे नेसपाका एक पदाधिकारीले बताए ।
‘तीन पार्टीसँग सामान्य छलफल भएको छ । तर, ठोस कुरा भएको छैन । हाम्रो खुट्टा उचालेर बसेका साथीहरू माओवादीमा गएमा एकताको कुरा अगाडि बढाउँछौँ,’ शिलापत्रसँग ती पदाधिकारीले भने, ‘अहिले नै ठोस कुरा भएको छैन । जसको बाधक नै महिन्द्रराय यादव हुनुहुन्छ । उहाँहरूको टिम माओवादीमा गयाे भने हामी तीन दलसँग एकताको कुरा अगाडि बढाउँछौँ ।’
अध्यक्ष यादव र महासचिव रमेश यादवले करबल गरेर माओवादी पार्टीलाई एकताका लागि पत्र लेख्न लगाएकाे आरोप नेसपाका ती पदाधिकारीले दाबी गरे । ती पदाधिकारीले भने, ‘यो बाहिर आएको पत्र माओवादीले एकता गर्नलाई भन्दा पनि हाम्रो अध्यक्ष र महासचिवको करकापमा लेखाएको हो । उहाँहरू पेरिसडाँडा गएर पत्र लेखिदिनुहोस् भनेर लेखेको हो । यो कुनै पार्टी एकता गर्न होइन कि यादवले मन्त्री पद जोगाउन गरेको तिकडम हो ।’
प्रचण्डसँग रुष्ट रहेका बाबुराम भने सीके र रेशमसँग मिलेर देखाइदिने मुडमा रहेकाे पनि नेसपाका नेताहरूबीच चर्चा हुन थालेकाे छन् । सीके राउतसँग बाबुराम भट्टराईकाे पुरानाे सम्बन्ध हाे । दाेस्राे संविधानसभाकाे समयमा बाबुरामले नै छलफलका लागि संवैधानिक समितिकाे बैठकमा राउतलाई बाेलाएका थिए । त्यतिबेला राउतले समितिमा विखण्डनकाे कुरा उठाएकाे भन्दै राउतलाई बाेलाएकाे विषय नै विवादमा परेकाे थियाे । समिति सभापतिसमेत रहेका बाबुराममाथि गम्भीर प्रश्न उठाइएकाे थियाे । झन्डै एक दशकदेखिकाे उनीहरूका सम्बन्धका कारण पनि अहिले एकताका लागि सहज हुने अनुमान गरिएकाे छ ।
माओवादी र नेसपाबीच पार्टी एकता गर्ने तयारी पहिलादेखि नै थियो । तर, यादव एकताकाे पक्ष र बाबुराम विराेधी देखिएका छन् । अहिले माओवादीले पत्र लेखेर दुवै अध्यक्षलाई पठाउँदा एकता विरोधीहरूले त्यसको विरोध गरेका अध्यक्ष यादव बताउँछन् । उनले भने, ‘पार्टी एकता गर्ने भनेर दुवै पार्टीले समिति नै बनाएको छ । अहिले आएर यस्तो उस्तो भन्नु एकताविरोधी कुरा हो । माओवादीसँग एकता गर्ने भनेर नै निर्णय भएकाले उहाँहरूले पत्र लेख्नुभएको हो ।’
यादवले माओवादीले दुवै अध्यक्षलाई पत्र पठाएको बताए पनि पार्टी नेता तथा भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले अहिलेसम्म माओवादीको कुनै पत्र पार्टी कार्यालय र अध्यक्ष भट्टराईलाई नआएको बताए । उनले भने, ‘माओवादीले पठायो भनिएको पत्र न त पार्टी कार्यलयमा आएको छ । न त डाक्टरसापको मेलमा आएको छ । बाहिर बाहिरको हल्ला के हो केही थाहा छैन । आधिकारिक पत्र पार्टी कार्यालयमा आउँछ ।