राजनीति
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलयबृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका हुन् ।
आइतबार (आज) बसेकाे मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘चाडपर्वको मुखमा जनताले चर्को मुल्यबृद्धि खेप्नुपर्ने मध्यनजर गरेर प्रधानमन्त्रीज्यूले मुलयबृद्धि तत्काल रोक्ने र साबिककै मूल्य कायम गर्ने निर्देशन गर्नु भएको छ । सम्भवत आयल निगमले केहीबेरमा सूचना निकाल्छ होला ।’
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिए पनि सो मूल्य कार्यान्वयन हुन भने केही समय लाग्ने भएको छ । आइतबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमले शनिबार राति इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो ।
तर, मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयको औपचारिक पत्र प्राप्त नभएसम्म मूल्य समायोजन नहुने निगमले जनाएको छ ।
सरकारको निर्णयसँगै मूल्य वृद्धि फिर्ता हुँदा खाना पकाउने ग्याँस र हवाई इन्धन घाटामा जाने निगमले जनाएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
यस्तै आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गृह मन्त्रालयको प्रस्तावमा उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
आचार्य संयोजकत्वको चार सदस्यीय टोलीमा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको जाँचबुझ आयोग गठन गरेको जानकारी दिइन् ।