logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जेठमा एकता महाधिवेशन गर्ने क्रान्तिकारी माओवादीकाे निर्णय


  • राजनीति
  • सोमबार, असोज १५ २०८०

क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टीले आगामी जेठमा एकता महाधिवेशन गर्ने भएको छ । ललितपुरस्थित मजदुरको कार्यालय कुपन्डोलमा १३ र १४ गते बसेको सचिवालय (पोलिटब्युरो) बैठकले एकताको महाधिवेशन जेठमा गर्ने प्रस्ताव गरेको एक नेताले जानकारी दिए ।

महाधिवेशनको तयारीका लागि मङ्गलवार अध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठक कृष्ण सेन ‘इच्छुक’ प्रतिष्ठान घट्टेकुलोमा २१ गतेसम्म बस्नेछ । बैठकमा अध्यक्ष वैद्यले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेशनमाथि छलफल हुने र केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गर्ने एजेन्डा भएको ती नेताले बताए ।

‘दुई दिन बसेको केन्द्रीय कार्यालय बैठकले जेठमा एकताको महाधिवेशन गर्ने प्रस्ताव अनुमोदन गरेको छ । तिथि मिति केन्द्रीय समिति बैठकले तोक्नेछ’, ती नेताले भने, ‘केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तर गरेपछि जिल्ला, प्रदेश सम्मेलन गरी नयाँ महाधिवेशन प्रतिनिधि चयन हुनेछ ।’

२०७९ चैत २४ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग पार्टी एकता भएको थियो । २६७ सदस्य केन्द्रीय समितिमा वैद्य नेकपाको ६० प्रतिशत र बहुमत समूहको ४० प्रतिशत सदस्य रहेका छन् । नेकपामा अहिले ६७ जना पोलिटब्युरो र १९ जना केन्द्रीय कार्यालय (स्थायी) समिति सदस्य रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार