logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काेशीका मुख्यमन्त्री कार्कीकाे सपथ आइतबार


  • राजनीति
  • शनिबार, असोज २७ २०८०

एमालेको समर्थनमा कोसी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले आइतबार सपथ लिने भएका छन्। नवनियुक्त मुख्यमन्त्री कार्कीको सपथ आइतबार दिउँसो १ बजे हुने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कार्कीले मुख्यमन्त्री पदको सपथ प्रदेश प्रमुखको कार्यालयमा लिनेछन्।

शनिबार दिउँसो प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त गरेका हुन्। कांग्रेस सांसद कार्कीले एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।

कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो। एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समयमै दाबी पेस पनि गरे। तर, सनाखतको बहानामा प्रदेश प्रमुख पर्शुराम खापुङले आफैंले दिएको समय पनि त्यत्तिकै टारिदिएका थिए। शनिबार बिहान हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेका हुन्। कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थन लिएर बहुमत पुर्‍याउँदै कार्की मुख्यमन्त्री बनेका हुन्।

कांग्रेसका विद्रोही सांसदहरूले आफूहरूको हस्ताक्षर आङ्बोले दुरुपयोग गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको बताएका छन्। आफूहरूको समर्थन कार्कीलाई रहेको उनीहरूले स्पष्ट पारेका थिए। प्रदेश प्रमुखकोमा हस्ताक्षर बुझाउँदा कार्कीलाई कांग्रेसका शमशेर राई, रामकुमार खत्री, लीलाकुमारी राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनीताकुमारी गुरुङले साथ दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार