logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती र प्रतिक्रान्तीकाे सुरुवात : प्रभु साह


  • राजनीति
  • मंगलबार, असोज ३० २०८०

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत भनेका छन् ।

सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरे ।

तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् । ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनका अनुसार गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुल्नेछ । ‘खर्बौं खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनिहरुले अब आफनो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन’ साह अगाडि लेख्छन्, ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’

गैरआवासीय नागरिकता वितरणले नेपाललाइए खोक्रो बनाउने उनको भनाइ छ । उनी लेख्छन्, ‘दुनियाँमा काही नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ ।’

विदेशी लगानी नेपाल ल्याउन गैरआवासीय नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मात्रै भएको उनको भनाइ छ । साहले लेखेका छन्, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैँछ । यस अपराधजन्य कार्यको विरुद्ध एक भएर प्रतिवाद गरौँ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार