राजनीति
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश चुनावमा नजाओस् भन्ने अवस्थालाई हेरेर आफ्नो पार्टी नयाँ सत्ता समीकरणमा समावेश भएको बताएका छन्। शनिबार काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्।
साथै, उनले सत्ता समीकरणमा समावेश हुनका लागि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष आग्रह गरेको बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशमा प्रतिगामी र राजतन्त्र ल्याउने प्रयत्न भइरहेको भन्दै त्यसको विरुद्धमा कम्युनिस्ट विचारधारा बोकेका शक्तिहरू एकजुट हुनुपर्ने बताए। ‘फेरि चुनावमा यो देश नजाओस भन्ने अवस्थालाई हेर्दै हामी नयाँ समीकरणलाई स्वीकारेर हिँडेका छौँ,’ अध्यक्ष नेपालले भने।
साथै, उनले एमाले अध्यक्ष केपी ओलीसँगको आफ्नो सम्बन्ध ५० औँ वर्ष पुरानो भएको भन्दै देश निर्माणमा लागेपछि पुराना कुराहरूलाई बिर्सिएर हिँड्नुपर्ने जिकिर गरे।