राजनीति
काठमाडौं । नेपाल राष्ट्र बैंककको गर्भनर बन्न गुणाकर भट्टको योग्यता नपुगेको भन्दै सर्वाेच्च अदालतमा पुरक रिट निवेदन दर्ता भएको छ ।
राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका भट्टको योग्यतामाथि प्रश्न उठाउँदै शुक्रबार अधिवक्ता प्रतिभा उप्रेति र विशाल थापाले सर्वाेच्च अदालतमा पुरक रिट निवेदन दर्ता गराएका हुन् ।
अधिवक्ता थापाले यस अघि गर्भनर नियुक्तिमा उमेरहद सम्बन्धी मापदण्डलाई संशोधन गरी हटाएको विरुद्ध रिट दायर गरेका थिए । उक्त रिटमै समावेश हुने गरी पुरक निवेदन परेको हो ।
न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले बैशाख २ गते उक्त रिटमाथि सुनुवाई गर्दै ६५ वर्षे उमेर हद हटाउने गरी भएको संशोधनलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरी दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाएको हो ।
अधिवक्ता थापाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गर्भनर सिफारिस समिति र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
संशोधन अघिको व्यवस्थामा गभर्नर लगायत सम्बद्ध पदाधिकारीको न्यूनतम उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्थ्यो। तर अहिलेको संशोधनले उक्त व्यवस्था हटाएपछि सर्वोच्चमा रिट परेको हो।
अब आइतबार नै पुरक निवेदनमाथि सुनुवाई हुनेछ ।