राजनीति
काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर छनोट सिफारिस समितिका सदस्य तथा पूर्व गर्भनर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका छन्।
नेपाल राष्ट्र बैंकको नयाँ गर्भनर नियुक्तिका लागि कार्यरत उक्त समितिबाट भट्टराईले राजीनामा दिएका हुन् । समिति गठन भएपछि एकपटक पनि बैठक नबसेकाले राजीनामा दिनुपरेको डा. भट्टराईले भनाई छ । उनले मंगलबार ह्वाट्सएपमार्फत आफ्नो राजीनामा पठाएका छन् ।
मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए ।
भट्टराईको राजीनामापछि समितिको आगामी बैठक र कार्यसूचीमा प्रभाव पर्ने सम्भावना रहेको छ। समितिमा अब नयाँ सदस्य मनोनयन गरिने वा बाँकी सदस्यहरूमार्फत प्रक्रिया अगाडि बढाइने भन्नेबारेमा सरकारको औपचारिक धारणा आउन बाँकी छ।
नेपाल राष्ट्र बैंकका वर्तमान गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल सकिनै लाग्दा नयाँ गर्भनर चयन प्रक्रिया तीव्र बनाइएको हो। भट्टराई समितिबाट बाहिरिएसँगै चयन प्रक्रियामा थप चर्चा हुने देखिन्छ।