राजनीति
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच ९ बुँदे सहमति भएको छ ।
बुधबार साँझ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी टोली र आन्दोलनरत शिक्षकहरुबीच ९ बुँदे सहमति भएको हो । मन्त्रिपरिषद्को बैठकले शिक्षकका नौबुँदे माग स्वीकृत गरेको छ। यससँगै शिक्षकको सडक आन्दोलन तत्कालका लागि स्थगित भएको छ।
नौबुँदे माग सरकारले स्वीकृत गर्ने र असार १५ भित्र शिक्षा ऐन ल्याउने सहमतिसँगै सहमति जुटेको हो। शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराइएको छ।
भोलिदेखि सडक आन्दोलन नहुने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए। विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई प्रतिनिधि सभाबाट यथाशीघ्र पारित गरिने सत्तापक्षका नेताहरूले लिखित प्रतिबद्धता जनाएका छन्।
नेपाल शिक्षक महासङ्घको आह्वानमा २०८१ चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षक तथा कर्मचारीहरूको पेशागत आन्दोलनका सन्दर्भमा प्रमुख सत्तारुढ दलका नेताहरूले संयुक्त रुपमा जारी गरेको प्रतिबद्धता पत्रमा विद्यालय शिक्षा विधेयक २०८० चालु संसद् अधिवेशनभित्र—अर्थात २०८२ असार १५ गतेभित्र—पारित गराउने उल्लेख गरिएको छ।
संसदीय दल, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेको उक्त प्रतिबद्धता पत्रमा संसदमा विधेयकबारे सैद्धान्तिक छलफल सम्पन्न भइसकेको र समितिमा उपसमिति गठन गरी दफावार छलफल भइरहेको जनाइएको छ।