राजनीति
दाङ । लुम्बिनी प्रदेश सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन् ।
जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी गुरुङले सभामुखले पत्र पठाएर जनताले तिरेको करबाट पाउने पारिश्रमीक उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख गरेकी छिन् ।
“देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ,” सांसद गुरुङले राजीनामा पत्रमा उल्लेख गरेकी छिन् ।
जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले भने गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिए । आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको जानकारी पनि उनले दिए ।