राजनीति
काठमाडौं । गृह मन्त्रालयले कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।
त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभाग मार्फत् गृहमन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा व्यक्तिहरुबाट लाखौं रुपैयाँ असुल्ने गरेको शिर्षमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै यस प्रकरणमा मन्त्रालय र नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भिर ध्यानाकर्ष भएको बताएका छन् ।
उक्त प्रकरणमा गृहमन्त्रालय र मन्त्री रमेश लेखकप्रति जोडेर आएका समाचारप्रति आपत्ति जनाउँदै विज्ञप्तिमा भनिएको छ, “कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं ।”
मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ ।
“यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ । यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं”, विज्ञप्तिमा भनिएको छ, “साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं ।”