राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
भिजिट भिसा प्रकरणमा गृह मत्री रमेश लेखक र उनको सचिवालयको संलग्नता रहेको कुरा सार्वजनिक भएकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्री लेखकलाई राजीनामा दिएर अनुसन्धानमा सघाउन अनुरोध गरेका छन् ।
“विगतमा सांसद रमेश लेखकले नै सदनमा, ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं । साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौं,” कार्यवाहक प्रवक्ता झाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुई ठुलो दलको १० महिने गठबन्धन सरकार बनेको ७ बुँदे आधारमा फिटिक्कै केही काम नगरेर देशमा व्याप्त निराशा थप्ने, सुशासनको धज्जी उडाउने, काम गर्नेहरूलाई लखेट्ने र हरेक संवैधानिक निकाय र राज्य संयन्त्रलाई दलीयकरण गर्ने गैरराजनीतिक अभ्यास गरिरहेको कार्यवाहक प्रवक्ता झाले विज्ञप्ति मार्फत् आरोप लगाएका छन् ।
साथै रास्वपाले सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गर्ने निर्णय गरेको छ ।
सहकारीको बोर्डमा रहेका, सहकारी वचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐन अनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशङ्काको यथेष्ट सम्भावना रहेकोमा आफूहरुको सरोकार र चिन्ता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।