राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा संसदबाटै गृहमन्त्री लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो । बैठकले भिजिट भिसा प्रकरणमा प्रश्न उठेपछि अनुसन्धानका लागि मार्गप्रस्त गर्नुपर्ने भन्दै मंगलबार बस्ने संसद बैठकमा सशक्त प्रतिपक्षी रुपमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रवक्ता झाले सांसदहरुले प्रश्न सोध्न नपाई गृहमन्त्रीले जवाफ दिने वातावरण बनाइने त्यो आफूहरुलाई स्वीकार्य नहुने स्पष्ट पारे । पहिला सांसदहरुले प्रश्न सोध्न पाउनु पर्ने र त्यसपछि गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाई छ ।
कांग्रेस नेता समेत रहेका गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा क्लिन चिट दिने अधिकार कांग्रेस पदाधिकारीहरुलाई नभएको उनले बताए । उनले भिजिट भिसा प्रकरणमा अनुसन्धानका लागि कांग्रेसले सहजीकरण गर्नुपर्ने भन्दै नेकपा (माओवादी केन्द्र) र राप्रपा लगायतका विपक्षी दलहरुलाई भिजिट भिसा प्रकरणमा संसदमा आफूहरुसँगै उभिन आह्वान समेत गरे ।