राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्षी दलहरुको बैठक आह्वान गरेका छन् ।
भिसिज भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै केही दिन यता प्रतिपक्षी दलहरुले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गरिरहेको समयमा अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलहरुको बैठक बोलाएका हुन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठक मध्यान्ह्र १२ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि छानबिन हुनु पर्ने माग गरिहेका छन् । तर सक्ष पक्ष भने तयार भएको छैन् ।
विपक्षीले निरन्तर संसद बैठक अवरोध गरेपछि बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।
संसद्को अवरोध खुलाउने विषयमा शनिवार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता समेत भएको थियो । उक्त भेटमा संसद्को गतिरोध अन्त्यको विषयमा छलफल भएको थियो ।
देउवासँगको भेटपछि अध्यक्ष प्रचण्डले आज प्रतिपक्षी दलका नेताहरुलाई बैठक बोलाएका हुन् ।