logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

तीनकुने घटना : आन्दोलनको जनकमान्डर दुर्गा प्रसाईंसहित ७ जना कारागार चलान


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३१ २०८२

काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीन कुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बिहिवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासले प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । बिहिवार साँझ थुनचेक बहस सकिएपछि न्यायाधीश कार्कीले अबेर रातीसम्म बसेर आदेश तयार गरेका थिए ।

आदेशमा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने ३२ जनालाई धरौटीमा छाड्न भनिएको छ । पुर्पक्षका लागि कारागार चलान हुनेहरुमा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र शुशिल बाराल रहेका जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार प्रसाईंलाई आपराधिक उपद्रवसको कुसरमा थुनामा पठाउन आदेश दिइएको हो । अदालतको आदेशसँगै ३२ जना धरौटीमा रिहा भएका छन् ।

आन्दोलनमा प्रदर्शनकारीहरुलाई उक्साएको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र राप्रपा महामन्त्री एवम् सांसद धवलशम्शेर राणासमेतलाई पक्राउ गरेको थियो । मिश्र र राणा भने यस अघि नै हाजिरी जमानीमा रिहा भैसकेका थिए ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै राजवादीहरुले चैत्र १५ मा तीनकुनेमा गरेको प्रदर्शन हिंसामा परिणत भएपछि एभिन्युजका पत्रकार सुरेज रजकलाई ज्युदै घरमा आगो लगाएर हत्या गरिएको थियो भने कीर्तिपुरका सविन महर्जनको प्रहरीले चलाएको गोली लागी हत्या भएको थियो ।

आन्दोलनमा २० जना प्रहरीको गोली लागेर घाइते भएका थिए । गोली लागेका कोही पनि प्रदर्शनकारी थिएनन् । गोली लागेर घाइते भएका ३ जना अझै पनि उपचारको क्रममा छन् । तिघ्रामा गोली लागेकी उदयपुरकी रेबिका खत्री, पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेल र पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठको उपचारकै क्रममा छन् ।

प्रदर्शनकारीहरुले व्यक्तिका निजी घरमा आगजनी गर्नुको साथै नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा आगजनी गरेका थिए भने अन्नपूर्ण पोष्ट, कान्तिपुर मिडिया हाउस लगायतको कार्यालयमा तोडफोड समेत गरेका थिए । प्रदर्शनमा ५६ वटा घर, संस्था एवम् कार्यालयहरुमा तोडफोड भएको प्रहरी तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडमा ६९ सवारीसाधनमा क्षति पुगेको थियो । त्यसमध्ये ६३ चार पाङ्ग्रे र ६ दुईपांग्रे सवारी छन् । सिसिटिभी लगायतका अन्य भौतिक चिजहरुमासमेत क्षति पुगेको प्रहरीले जनाएको छ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार