राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारमा सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक उडयन राज्यमन्त्री अरुण कुमार चौधरीले राजीनामा बुझाउँदैछन् ।
नाउपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आइतबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसद सचिवालयलाई जानकारी गराएको थियो। मन्त्री चौधरीले आइतबार नै राजीनामा बुझाउने तयारी भएतापनि प्रधानमन्त्री केपी शर्मा ओली बेली ब्रिज उद्घाटन गर्न हुम्ला गएकाले उनले आज ओली समक्ष राजीनामै बुझाउने छन्।
प्रधानमन्त्री हिजो १० बजे राति मात्रै फर्केकाले उनलाई आज भेटेर राजीनामा दिने तयारी गरिएको नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिन्। उनले भनिन्, “प्रधानमन्त्रीज्यू हिजो राति १० बजे फर्किनुभएछ । हामी आज उहाँलाई भेटेर राजीनामा बुझाउँछौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराउँछौँ। पर्त दर्ता भएपछि राजीनामा दिएको भइहाल्यो ।”
शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो।
नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।