राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङको कोरला नाका पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन्।
मुस्ताङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद सहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् ।
असार २४ गते गोसाइकुण्ड गाउँपालिका– २ मा आएको आकस्मिक बाढीका कारण नेपाल–चीन जोड्ने रसुवागढी नाका पूर्णरुपमा अवरुद्ध भएकै दिन प्रधानमन्त्री ओलीले सो क्षेत्रको स्थलगत अवलोकन गरी वैकल्पिक मार्ग र पूर्णरूपमा नाका सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीले आफूले बेनीघाट–कोरला नाका निर्माण सुरु गरेको, भारतीय प्रधानमन्त्री मोदीलाई मुक्तिनाथको भ्रमण गराएको, मुक्तिनाथ केवलकार सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको, छेउको सुपर जोन निर्माण र च्याङ्ग्रापालन लगायतका कामलाई प्राथमिकता दिएको स्मरण गराएका थिए ।
साथै कालिगण्डकी करिडोरको कागबेनी–कोरला सडक खण्डमा कालोपत्र गर्न र आवश्यक संरचना निर्माण गरी कोरना नाकामा पूर्णरुपमा सञ्चालनमा ल्याउन माग गरिएको थियो । कोराला नाकामा भन्सार, अध्यागमन, एकीकृत सुरक्षा पोष्ट, सुख्खा बन्दरगाहलगायत व्यापारिक प्रतिष्ठानका भौतिक निर्माण आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराइएको छ ।
सडक र नाका पूर्ण सञ्चालन नहुँदा तथा निषेधित क्षेत्रको कार्यान्वयनका कारण माथिल्लो मुस्ताङका होटेल तथा स्थानीय व्यवसायी घाटामा रहन बाध्य भएको जनप्रतिनिधिको गुनासो थियो ।
प्रतिनिधिमण्डलमा सङ्घीय सांसद योगेन्द्र गौचन थकाली, लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वुु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए । कागबेनी–कोरला सडक खण्ड ९७ किलोमिटर कालोपत्रका लागि ठेक्का हुन बाँकी रहेको छ भने तातोपानी खोला, दाना खोला, पाण्डा खोला, तान्ग्बे खोलामा पुल निर्माणमा ठेक्का तोडिएकाले पुनः सुचारु गर्नुपर्ने छ ।