राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवम् प्रतिनिधि सभा सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्लाई आज सम्मकै भ्रष्ट मन्त्रीपरिषद् भएको आरोप लगाएका छन् ।
आज बसेको प्रततिनिधिसभा बैठकमा बोल्दै सांसद ज्वालाले सम्भवत आजसम्मकै भ्रष्ट, विवादीत र बदनाम क्याबिनेट वर्तमान प्रधानमन्त्री ओली नेतृत्वको क्याबिनेट नै भएको बताए । अहिले मन्त्री, पूर्वमन्त्रीहरुको अख्तियारमा बयान दिन जुलुस लागेको उनको भनाई रहेको छ ।
“प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न’ भनिरहँदा उहाँकै क्याबिनेटका मन्त्रीहरु एकपछि अर्काे भ्रष्टाचार, घुसखोरी काण्डमा मुछिएका छन् । सम्भवत् आजकै भ्रष्ट, बदनाम र विवादीत क्याबिनेट यही हो । अख्तियारमा बयान दिन मन्त्री, पूर्वमन्त्री र कर्मचारीहरुको जुलुस लागेको छ । यो त अली लज्जाजनक भएनर प्रधानमन्त्री ज्यू,” सांसद ज्वालाले भने ।
भ्रष्टाचारमा जोडिएका मन्त्रीहरुले राजीनामा मात्र दिएर नपुग्ने र उनीहरुमाथि कारबाही प्रक्रिया समेत अगाडी बढाउनु पर्ने उनले बताए । उनले प्रधानमन्त्रीको अध्यक्षतामा बनेको सुशासन समिति हो की ? कुशासन समिति हो यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनु पर्ने बताए ।
लाखौं विद्यार्थी र शिक्षकहरुको हितलाई लत्याउँदै बिचौलियाको प्रभावमा सरकारले शिक्षा विधेयक समितिमा बन्धक बनाएको उनको आरोप छ । उनले भने, “समितिले फाइनल गरेको विधेयक संसदमा ल्याउन सरकार किन डराइरहेको छ । तुरुन्त शिक्षा विधेयक अगाडी बढाइयोस ।”
संसदीय छानबिन समितिले छानबिन गरिरहेकै बेला कुलिङ पीरियड हटाउन प्रधानमन्त्रीकै दलका सांसदहरुले संशोधन प्रस्ताव राख्नु षड्यन्त्रको अर्काे शृङ्खला भएको सांसद ज्वालाले बताए ।
उनले भने, “सरकारको आडमा स्वार्थ समूहले चलखेल निजामती विधेयकबाट दुई वर्षे कुलिङ पीरियड हटाए । संसदीय छानबिन समितिले छानबिन गरिरहेकै बेला राष्ट्रिय सभामा प्रधानमन्त्रीकै दलले कुलिङ पीरियड हटाउन संशोधन प्रस्ताव राख्नु षड्यन्त्रकै अर्काे शृङखला हो भन्ने मलाई लाग्छ । संसदको गरिमाको लागि पनि यो शृङ्खला भत्काउँनै पर्दछ ।”