राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जाल, झेल, ठगी, भ्रष्टाचार र बेइमानी वर्तमान केपी शर्मा ओली सरकारको परिभाषा जस्तै भएको बताएका छन्।
शनिबार सहीद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्य भवनको उद्घाटन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, “जालझेल ठगी भ्रष्टाचार र बेइमानी त वर्तमान सरकार वर्तमान सरकारको परिभाषा हो।”
फरक प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले निजामती सेवा विधेयकमा भएको कुलिङ पिरियडको छेडाखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।
कुलिङ पिरियडमा एमालेले लास्टमा आएर म्याउ गरेको भन्दै प्रचण्डले कुलिङ अफ पिरियडमा भएको छेडाखानीको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्ने ठोकुवा गरे ।
उनले भने, “मैले संसदीय छानबिन समितिलाई भनेको छु। शंकाको सुई त पहिले पनि प्रधानमन्त्री तिरै सोझिएको थियो। तर भन्ने ठोस आधार भएन । एमालेका सांसदहरूले गरेको गतिविधि र संशोधनबाट एमाले पार्टी र त्यसको नेतृत्वको नियतिकै कारणले भएको हो । छानबिनको दायरामा प्रधानमन्त्री स्वयंलाई पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं। हाम्रा माननीय सदस्यहरूले संसदमा पनि उठाउनुभएको छ।”