राजनीति
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
प्रदेश सभाको बैठक सकिए लगत्तै बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहवली बिहिबार बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने निर्णय गरेको हो।
मुख्यमन्त्री शाहलाई विश्वासको मत दिनको लागि ह्वीप जारी समेत गरिएको कांग्रेसका मुख्य सचेतक विक्रम सिंह धामीले जानकारी दिए। उनका अनुसार प्रदेश सांसदहरूलाई साउनको १५ गतेसम्म प्रदेशको अस्थायी राजधानी धनगढी नछाड्न समेत निर्देशन दिइएको छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले प्रदेश सभाबाट पूर्ण विश्वासको मत लिनु परेको हो । नाउपाबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
सुदूरपश्चिम प्रदेशमा एक निलम्बनबाहेक ५२ जना प्रदेश सभा सदस्य रहेका छन्। प्रदेशको चौथो ठूलो दल नाउपासँग ७ जना प्रदेश सभा सांसद रहेका छन्।
नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ प्रदेश सभा सदस्य छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का ११, एकीकृत समाजवादीका चार, (एक निलम्बितसहित), राप्रपा एक र एक जना स्वतन्त्र सांसद रहेका छन् ।