राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसको गल्ती उसैले आत्मालोचना गर्नुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय मुख्यालय पेरिस डाँडामा जारी स्थायी कमिटीको बैठक पछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले महासचिव जनार्दन शर्मा प्रति लक्षित गर्दै गल्ती गर्नेले आत्मालोचना पनि गर्नुपर्ने बताए ।
उनले भने, “छलफल चलिरहेको छ । जसले गल्ती गरेको छ । उसले आत्मालोचना गर्नुपर्ने कुरा हो ।”
नेकपा माओवादी केन्द्रभित्र हाल अध्यक्ष प्रचण्ड र पार्टी उपमहासचिव जनार्दन शर्माबीच वाक युद्ध चलिरहेको छ। शर्माले पछिल्लो समय पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै आएका छन्।
जारी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक कुरालाई सार्वजनिक रुपमा व्यक्त गरेको भन्दै उपमहासचिव शर्मालाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए।
स्रोतका अनुसार पार्टी बैठकमा बोल्ने क्रममा उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डले नेतृत्वमा गरेको गल्तीको आत्मालोचना गरे आफू पनि आत्मालोचना गर्न तयार रहेको बताएका थिए ।