logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

चीन–भारत लिपुलेक सहमतिमा ओलीको आपत्ति, सीले दिए यस्तो जवाफ


  • राजनीति
  • आइतबार, भाद्र १५ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाएका छन् ।

परराष्ट्र मन्त्रालयका अमृत राईका अनुसार, शनिबार दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उक्त भू–भागबारे भएको सहमतिको बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति जनाएका छन् ।

‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा मैले राष्ट्रपति सीसँग स्पष्ट रूपमा आपत्ति रहेको कुरा राखेको छु,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै राईले भने, ‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’

यस्तै, शनिबार साँझ नै बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा पनि लिपुलेकबारे चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त सम्झौताप्रति नेपालले कडा आपत्ति जनाइसकेको स्पष्ट पारेको उल्लेख छ । ‘भारत र चीनबिच लिपुलेक नाका हुँदै सीमा व्यापारसम्बन्धी नयाँ समझदारीको सन्दर्भमा प्रधानमन्त्रीले उक्त भूभाग नेपालकै भएको र यसप्रति नेपाल सरकारले कडा आपत्ति जनाइसकेको स्पष्ट पार्नुभयो,’ दूतावासको विज्ञप्तिमा छ ।

राष्ट्रपति सीले नेपालले राखेको अडानसँग आफू फरक नरहेको बताउँदै लिपुलेकसम्बन्धी विवाद नेपाल–भारतबिचको छलफलमार्फत समाधान होस् भन्ने चाहना राखेको सचिव राईले बताए । ‘त्यो नाका (लिपुलेक) परम्परागत रूपमा प्रयोग हुँदै आएको हो । नेपालको जुन दाबी छ, त्यसमा हाम्रो कुनै पक्ष वा दाबी हुँदैन । तपाईंहरूको सीमा विवादमा हामी पक्ष बन्न चाहँदैनौँ । यो दुई पक्ष (नेपाल र भारत) ले समाधान गर्ने विषय हो,’ चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रसचिव राईले भने ।

तर, चिनियाँ विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भने लिपुलेखको सन्दर्भबारे उल्लेख गरिएको छैन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार