राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही– ३ मा हुन लागेको उपनिर्वाचनको लागि पार्टीको तर्फबाट बन्ने उम्मेदवार छान्न पार्टीभित्रै गरेको ‘प्राइमरी इलेक्सन’ माथि प्रश्न उठेको छ ।
आइतबार उम्मेदवार घोषणाको नजिक आउँदा केही मतदाताहरुले आफूहरुले मतदान गर्न नपाएको गुनासो गरेका छन् भने केही उम्मेदवार आकांक्षीहरुले अनलाइन भोटिङमा धाँधली भएको गुनासो गरेका छन् ।
उम्मेदवार मधु अर्यालले मतदान गर्न नपाएका केही मतदाताहरुबाट गुनासो आएको तर यसलाई ठूलो इस्यु बनाउन नहुने बताए भने अर्का उम्मेदवार पार्थिवेन्द्र उपाध्यायले कतिपय पार्टी सदस्यले पासवर्ड विर्सेका कारण त्यसो हुन गएको जानकारी दिए ।
उनले भने, “पार्टीका गतिविधिबारे जानकारी सदस्यहरुले मतदान गरेका छन् । एप अपडेट नगरेकोले मत कम परेको भए पनि धाँधली गरेको भन्न मिल्दैन् ।” रास्वपा स्रोतका अनुसार डिजिटल भोटिङ भएका कारण केही प्राविधिक समस्या आएको हो । यसलाई धाँधली वा गलत भएको भन्न मिल्दैन ।
रास्वपाका यस क्षेत्रमा सदस्यताको संख्या २७१६ रहेको छ । ती मध्येबाट १५६७ मत खसेको थियो । क्षेत्रका सदस्यहरू मध्ये ११४९ जना प्रारम्भिक मतदानमा सहभागी भएनन् । ६२ जना केन्द्रीय समिति सदस्यहरूमा २७ जनाले मात्रै मत दिए ।
भदौ १२ र १३ रास्वपाले ९ जना आकांक्षी उम्मेदवारबीचमा मतदान गराएको थियो ।
आकांक्षीहरूमा अर्याल, सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् ।