राजनीति
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा हुने निर्वाचनमा एमालेलाई एकल बहुमत ल्याउन कसैले नरोक्ने दाबी गरेका छन् ।
ललितपुरको गोदाबारीमा आजदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेले ८४ को निर्वाचनमा एकल बहुमत ल्याउन कसैले नरोक्ने र आफूहरु पनि सरकारमा नै सहभागी भएकाले निर्वाचनमा धाँधली हुन नदिने दाबी गरे ।
उनले भने, “ ८४ मा हामीले एकल बहुमत ल्याउनु पर्दछ । कम्तीमा हामीले एकल बहुमत ल्याउनु पर्दछ । सम्पूर्ण पार्टी कमिटीहरुलाई परिचालित गरेर जनताका बीचमा गयौं भने बहुमत ल्याउनबाट हामीलाई कसैले रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौं ।”
आफूहरु पनि सरकारमा भएकाले आउँदो निर्वाचनमा कसैले धाँधली गर्न नसक्ने उनको भनाई रहेको छ । “हामी पनि सरकारमा छौं । आउँदो निर्वाचनमा कसैले धाँधली गर्न सक्दैन । दृढताका साथ धाँधली रोक्नेछौं र निष्पक्ष, स्वतन्त्र निर्वाचन हुँदैछ । शान्तिपूर्ण वातावरणमा निर्वाचन हुन्छ । दुष्प्रभावबाट मुक्त निर्वाचन हुन्छ ।”
ओलीले यी सबै परिस्थितिहरुलाई ध्यानमा राखेर अगाडी बढ्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।