राजनीति
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुने जनाएको छ । कार्यतालिका अनुसार आगामी मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता हुनेछ ।
पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुनेछ भने फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।
फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना प्रारम्भ गरिने छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको रहेको आयोगका विज्ञप्तिमा उल्लेख छ ।
