राजनीति
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन हो ।
मंसिर १ मा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको लागि आवेदन खुलेको थियो । हिजो सम्म ८० वटा राजनीतिक दलले दल दर्ता गरिसकेका छन् । आजसम्म दल दर्ता गर्नेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पाउनेछन् ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी माघ ६ मा उम्मेदवार मनोनयन पत्र दर्ताको समय छ । सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिन ७ माघमा हुनेछ ।
माघ ८ मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय हुनेछ । पुनः उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । ९ माघमा उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही उम्मेदवारको नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।