राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्कमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा (एमाले) का कारण मुलुक गम्भीर राष्ट्रिय संकटमा फसेको आरोप लगाएका छन् ।
आइतबार पोखराको चिप्लेढुंगामा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधिन्ता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त वामपन्थी तथा कम्युनिष्ट शक्तिहरु एकजुट हुनु अत्यावश्यक भएको बताए ।
एमाले र कांग्रेसका दुई तिहाइबाट जनताले के हासिल गर्न सके भनेर प्रश्न उठाउँदै प्रचण्डले भने, “हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौं । सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौं । तर, सरकारबाट हटाइयो । भ्रष्टाचारविरुद्ध लड्न पनि दिइएन् । हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न शक्ति पुगेन ।”
नेकपाको एकता अभियान चुनाव जित्ने उदेश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधिनता, संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको उनले स्पष्ट पारे । फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन हुनुपर्ने भन्दै संयोजक प्रचण्डले सरकारलाई चुनावी वातावरण निर्माणमा सक्रिय हुन आग्रह समेत गरे ।