राजनीति
काठमाडौं । सरकार र जेन–जीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारमा सरकार र जेन–जी प्रतिनिधिबीच १० बुँदे सम्झौता भएको हो ।
जेन-जी मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेन-जी (सुधन गुरुङ समूह) र जेन-जी फ्रन्ट (रक्षा बम समूह)लगायतका समूहसँग बुधबार साँझ सरकारले सम्झौता गरेको हो ।
नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालिन राजनीतिक दलहरुको सत्तापलट गरेको थियो । त्यही बलमा जेनजी युवाहरूसमेतको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सरकार बनेको हो ।
जेनजीका केही समूहले आफ्ना मागहरूलाई राज्यसमक्ष संस्थागत रुपमा दर्ता गराउन चाहेका थिए । तर के–के विषय दस्तावेजीकरण गर्ने भन्नेमा लामो समय रस्साकस्सी चल्यो ।
दुवै पक्षबीच बुधबार सिंहदरबारमा आन्दोलन संस्थागत गर्ने विषयलाई लिएर सम्झौता भएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार बनेपनि तीन महिनापछि आएर मात्र औपचारिक सम्झौता भएको हो ।
सम्झौतामा हस्ताक्षरपछि भने केही जेनजीहरूबीच विवाद भएको थियो ।