राजनीति
काठमाडौं । सर्वाेच्च अदालतले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा अनुसन्धान गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगविरुद्ध परेको रिट खारेज गरेको छ ।
अधिवक्ता विपीन ढकालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोज कुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले शुक्रबार उक्त रिट खारेज हुने फैसला गरेको हो ।
यस अघि हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुलसमानको संयुक्त इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
आन्दोलनकै क्रममा कार्कीले जेनजी युवा आन्दोलनको समर्थन गर्दै राजनीतिक दलका नेताविरुद्ध निरन्तर अभिव्यक्ति दिएका थिए। पछि कार्की नेतृत्वको सरकारले उनैलाई जाँचबुझ आयोगको अध्यक्ष बनाएको थियो।
छानबिनको विषयसँग सम्बन्धित धारणा पहिले नै सार्वजनिक गरेको र पूर्वाग्राही देखाइसकेकाले उनीहरूको अनुसन्धानबाट घटनाको सत्यतथ्य बाहिर नआउने जिकिर गर्दै अधिवक्ता ढकालले रिट दायर गरेका थिए।