राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन बताएकी छिन् ।
नवलपरासी बर्दाघाट सुस्ता पूर्वको कावासोती नगरपालिका– १ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भए पश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
“निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ । विशेष गरी हिमाली जिल्लाहरुमा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौं,” प्रधानमन्त्री कार्कीले भनिन् ।
कम मतदाता भएका स्थानमा सवारी साधानको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने भन्दै उनले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गर्नेतर्फ सोच्न सकिने बताइन् ।
अहिले सम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कासाथ आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न उनले आग्रह गरिन् । समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशामा अगाडी बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले बताइन् ।
विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर निर्वाचन गराइने प्रधानमन्त्री कार्कीले बताइन् ।