logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

लोकतन्त्रमाथि प्रहार गर्न भूराजनीतिक चलखेल भैरहेको प्रचण्डको दाबी


  • राजनीति
  • सोमबार, माघ २७ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रमाथि प्रहार गर्न नेपालमा भूराजनीतिक चलखेल भैरहेको दाबी गरेका छन् ।

सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले विश्व साम्राज्यवादले विभिन्न देशहरुमा लोकप्रियतावादलाई प्रस्तुत गरेर लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गर्ने गरेको बताए ।

उनले भने, “स्टन्ड गरेकै भरमा, प्पलुलिजम एउटा लोकप्रियतावाद जसरी विश्व प्रतिक्रियावादले भन्छु म, विश्व साम्राज्यवादले विभिन्न लोकप्रियतावादलाई, पपुलिजमलाई प्रस्तुत गर्ने र लोकतन्त्रकाविरुद्ध, समाजवादकाविरुद्ध प्रहार गर्ने गरेको छ । नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना त्यसैलाई रिपिट गर्ने र यहाँ लोकतन्त्रमाथि प्रहार गर्ने अहिलेको भूराजनीतिक चलेखल जस्तो छ, त्यसबाट यहाँ हस्तक्षेप गर्ने कोशिश भएको छ ।”

भुराजनीतिक चलखेलबारे प्रतिवाद गर्न फेरि एउटा नयाँ संकल्पसहित राष्ट्रिय शक्तिको आवश्यक भएको हुनाले आफूहरुले विभिन्न राजनीतिक दलहरुलाई मिलाएर नेकपा बनाएको संयोजक प्रचण्डको भनाई रहेको छ ।

“त्यसको प्रतिवाद गर्नको लागि पनि हामीलाई नयाँ संकल्प, नयाँ समिक्षासहित फेरि राष्ट्रको निम्ती र जनताको निम्ती समर्पित रुपले लाग्ने तागत चाहिएको छ । हामीले त्यही तागत शृष्टि गर्ने उद्देश्यले नै नेपाली कम्युनिष्ट पार्टी निर्माण गर्न अगाडी बढेका छौं,” उनले भने ।

नेपाली कम्युनिष्ट पार्टीप्रति दिन प्रतिदिन जनताको आशा र भरोसा बढ्दै गएको भन्दै उनले नेकपाका उम्मेदवारहरुलाई तारा चुनाव चिन्हमा मत दिएर विजयी गराउन र समानुपातिकतर्फ पनि तारा चुनाव चिन्हमा मतदान गर्न अपिल समेत गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार