राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्यनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताएका छन् ।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले हालकै दिनमो देखिएको स्टन्ड र हल्लाको प्रभाव जनताले बुझिसकेको बताए ।
सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई स्टन्डबाजको संज्ञा दिँदै प्रचण्डले पार्टीका नेता कार्यकर्ताहरुलाई तर्कसहित त्यसको खण्डन र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिए ।
उनले भने, “मैले के देखिराखेको छु भने अहिले सोसल मिडियाबाट भएको प्रचारबाजी अनुसार फिल्डमा छैन् । सोसल मिडियावाला, स्टन्टवाजवाला भन्ने गरेका छौं हामीले । पहिला जहाँ जिते त्यहाँ उनीहरुको ओरालो छ । तपाईं उपत्यकामै हेर्नु भयो भने उनीहरुको अहिले छैन् । नयाँनयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ ।”
उपत्यका लगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरुलाई जनताले हेरिसकेको र अब स्टन्टबाजहरुको हल्लाखेर प्रवृत्तिको भ्रम मुक्त भैसकेको प्रचण्डको दाबी छ । राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एकमात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको उनले बताए ।