राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशमा सुशासन स्थापना गर्ने प्रतिबद्धतासहित विभिन्न संरचनात्मक तथा कानूनी सुधारका कार्यक्रमसहितको चुनावी संकल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि राप्रपाले आज काठमाडौंमा आयोजित एक समारोहकाबीच अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरुले सार्वजनिक गरेको संकल्पपत्रमा ‘बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं’ भन्ने सन्देशसहित सुशासनको कार्यक्रम अगाडी सारिएको छ ।
घोषणापत्रमा उच्चस्तरीय छानबीनदेखी न्यायपालीका पुर्नसंरचनाका कार्यक्रम अगाडी सारिएको छ । २०४६ सालपछि उच्च पदमा बसेका नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरिने घोषणा गरिएको छ ।
अवैध सम्पत्ति जफत गर्न कानुनी व्यवस्था मिलाइने र भ्रष्टाचारसम्बन्धी सूचना दिने व्यक्तिलाई संरक्षण गर्न ‘सूचक संरक्षण ऐन’ लागू गरिने राप्रपाले संकल्पपत्रमा उल्लेख गरेको छ ।
त्यस्तै सार्वजनिक पदाधिकारीलाई कानुनी दायरामा ल्याउन ‘स्वार्थको द्वन्द्व’ सम्बन्धी कानुन जारी गरिने तथा सम्पत्ति शुद्धीकरण ऐनमा सुधार गरिने जनाइएको छ। साथै न्यायपालिकाको पुनर्संरचना गरी निष्पक्ष, सक्षम र जनउत्तरदायी बनाउने लक्ष्य राखिएको उल्लेख गरिएको छ।