राजनीति
काठमाडौं । माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता चयन भएसँगै नेकपा एमालेभित्र तीव्र असन्तुष्टि देखिएको छ।
आज पार्टी मुख्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई संसदीय दलको नेतामा चयन गरेको थियो । साथै पक्राउ परेका अध्यक्ष केपी शर्मा ओलीलले बादललाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको हुन् ।
पक्राउ परेका ओलीको ठाडो निर्देशनमा बादल दलको नेता चयन भएसँगै एमाले नेता योगेश भट्टराईले सामाजिक सामाजिक सञ्जाल फेसबुक मार्फत् असन्तुष्टि जनाएका हुन् । निर्वाचनबाट पार्टीले गम्भीर धक्का व्यहोरेको, नेतृत्वप्रति व्यापक जनगुनासो बढिरहेको र अध्यक्ष स्वयं गिरफ्तारीमा परेको संवेदनशील अवस्थामा यस्तो निर्णय प्रक्रियाले पार्टीलाई थप चिन्तित बनाएको भट्टराईको भनाई रहेको छ ।
सांसदहरुलाई दबाबमा राखेर दलको नेता चयन गरिएकोले यो राम्रो नभएको भट्टराईले बताए । एमाले युवा नेता सुहाङ नेम्वाङले संसदीय दलको नेतामा दाबी गरेका थिए । तर, अध्यक्ष ओलीको ठाडो निर्देशनमा अन्य नेताले सुहाङलाई संसदीय दलको नेताको लागि उम्मेदवार बन्न समर्थक र प्रस्वक बन्न समेत नमानेपछि उनी अन्तिम समयमा ब्याग भएका थिए ।
उनले लेखेका छन्, “निर्वाचनबाट पार्टीलाई गंभीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएकोछ । केहि दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरुका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।”