राजनीति
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्धामा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले देउवा र राणाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यो सँगै देउवा दम्पत्तिलाई फरार सूचीमा राखिएको छ । उनीहरुविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्धामा छानबिन भैरहेको थियो ।
‘रेड कर्नर नोटिस’ जारी गर्नकै लागि देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ । सम्पत्ति शुद्धिकरण मुद्धामा तानिएका पूर्वप्रधानमन्त्री देउवा परिवार विदेशमा रहेका छन् । उपचारक लागि भन्दै देउवा दम्पत्ति फागुन १३ गते सिंगापुर गएका थिए ।
सरकारले पूर्वप्रधानमन्त्रीहरु देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्रीहरु आरजु राणा देउवा र दिपक खड्काविरुद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ ।
विदेशमा रहेका व्यक्तिहरुलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी गरी गरिन्छ । त्यसको लागि औपचारिक सुरुवात पक्राउ पुर्जी जारीबाट हुने गर्दछ ।