राजनीति
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनलाई स्कुल वा कलेजहरुमा प्रनिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाउन नहुने निष्कर्ष निकालेको नेकपा नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने, “जनसंगठनहरु खासगरी युवा विद्यार्थी लगायतका विद्यार्थी संगठनहरुलाई कलेजमा प्रतिबन्ध गर्ने कुरा र ट्रेड युनियनहरुलाई कलेजमा प्रतिबन्ध गर्ने कुरा बेठिक हो । यसले जनता र ट्रेड युनियनको अधिकारलाई कुण्ठित गरेको छ । यो लगत हो । यस्तो गर्न पाइँदैन । यसको विपक्षमा हामी उभिनेछौं भन्ने पार्टीले निष्कर्ष निकालेको छ ।
बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि सरकारले सार्वजनिक गरेको एक सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन र ट्रेड यूनियन खारेज गर्ने विषय उल्लेख गरेको थियो । सरकारको यस्तो निर्णयप्रति विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन र ट्रेड यूनियनहरुले विरोध जनाएका छन् ।
नेकपाको आजको केन्द्रीय कार्यसंयोजनको बैठकले पनि विद्यार्थी संगन खारेज गर्न नहुने भन्दै सरकारको उक्त निर्णयले जनता र ट्रेड युनियनको अधिकार कुण्ठित गरेको निष्कर्ष निकालेको हो ।