logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

रास्वपाकै सांसद कार्कीले भने : दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन


  • राजनीति
  • बुधबार, बैशाख १६ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् गणेश कार्कीले सरकारले सिफारिस गरेको दुई अध्यादेशबारे कडाा टिप्पणी गर्दै दुई तिहाई बहुमत भएको सरकारले संसद् रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन् ।

तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा कार्कीले चर्काे विरोध गरेको स्टाटस अहिले सामाजिक सञ्जालमा भाइरल भएसँगै उनको धारणा मागिएपछि कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

“अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन,” कार्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

संविधान अक्षरले बाँच्ने दस्तावेज नभई मर्मको पालनाले जीवन्त रहने भन्दै कार्कीले संविधानका अक्षरले संविधानको मर्मलाई सिमित नगरोस् भनेर उल्लेख गरेका छन् । विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदाखेरिका आफूले उठाएका प्रश्नहरू अहिले पनि जीवित रहेको उनले बताए ।

यस्तो छ अध्यादेशबारे कार्कीको टिप्पणीः

सरकारले ल्याएको अध्यादेशको बारेमा मेरो धारणा माग्दै र मौनतामा मलाई नै प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति मलाई गौरव छ । विधिको प्रश्न र जवाफदेहीताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम छ ।
रह्यो अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन । अध्यादेश सँधै संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन । संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सिमित नगरोस् ।
र, विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदाखेरिका मैले उठाएका प्रश्नहरू अहिले पनि जीवित छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार