logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नेकपा (बहुमत)मा विभाजन, दुवै पक्षले गरे निष्कासन


  • राजनीति
  • सोमबार, भाद्र १५ २०८३

धर्वेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)मा नेतृत्व विवाद चर्किएको छ। राष्ट्रिय सम्मेलनको तयारीका क्रममा पार्टीको अध्यक्ष मण्डलभित्र विवाद बढेपछि दुवै पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेका छन्।

राष्ट्रिय सम्मेलन तयारी अध्यक्ष मण्डलका अध्यक्ष बास्तोलाले अध्यक्ष मण्डलका सदस्य उदय चलाउने ‘दिपक’ र गुणराज लोहनी ‘प्रविर’लाई पार्टीबाट निष्कासन गरेपछि विवाद थप चर्किएको हो।

बास्तोलाको निर्णयपछि चलाउने पक्षले केन्द्रीय समितिको भर्चुअल बैठक मार्फत उदय चलाउने ‘दिपक’लाई अध्यक्ष मण्डलको अध्यक्ष चयन गरेको जनाएको छ। उक्त बैठकले बास्तोलालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको पनि चलाउने पक्षको दाबी छ।

दुवै पक्षले एकअर्कालाई निष्कासन गरेको घोषणा गरेपछि पार्टीमा समानान्तर नेतृत्वको अवस्था सिर्जना भएको छ। दुवै पक्षले आफूलाई पार्टीको आधिकारिक नेतृत्व भएको दाबी गरिरहेका छन्।

केन्द्रीय समितिमा शक्ति समीकरण

उपलब्ध विवरणअनुसार ७६ सदस्यीय केन्द्रीय समितिमा चलाउने पक्षका ५२ जना र बास्तोला पक्षका १७ जना रहेको दाबी गरिएको छ। बाँकी सात जनामध्ये केहीले कुनै पनि पक्षमा नलाग्ने र स्वतन्त्र रूपमा वैचारिक पहल गर्ने बताएका छन्।

त्यस्तै, २७ सदस्यीय सचिवालयमा चलाउने पक्षका १९ जना र बास्तोला पक्षका आठ जना रहेको दाबी गरिएको छ।

चलाउने पक्षधर सचिवालयमा उदय चलाउने (दिपक), कृष्ण धमला (गम्भीर), गुणराज लोहनी (प्रविर), लालबहादुर बिसी (सार्दुल), डि.डी. पाण्डे (प्रतीक), दिपेन्द्र चलाउने, अनन्त चलाउने (जित), देवकला, सुजन विक, गोकुल पराजुली, अन्जना तामाङ, राकेश चौधरी, धुर्व खड्का, दुर्गा सुवेदी, अमृत विक, रोजन् रकाल, नरेश, प्रेम ओली (धमिल) र संघर्षलगायत रहेका छन्।

बास्तोला पक्षधर सचिवालयमा धर्वेन्द्र बास्तोला (कञ्चन), बाबुराम विक, अग्रिम विक, तिलक पुन, यमराज खड्का, गौरी मण्डल, विजय दर्नाल र सागर लिम्बूलगायत रहेका छन्।

राष्ट्रिय सम्मेलनको तयारी प्रभावित

नेतृत्व विवादसँगै प्रस्तावित राष्ट्रिय सम्मेलनको तयारीसमेत प्रभावित हुने देखिएको छ। दुवै पक्षले आ–आफ्नो निर्णयलाई वैधानिक भन्दै संगठनमा आफ्नो नेतृत्व स्थापित गर्ने प्रयास गरिरहेका छन्।

चलाउने पक्षका एक सचिवालय सदस्यले पार्टीको संगठनात्मक प्रक्रियाअनुसार आफूहरूको पक्षमा बहुमत रहेको दाबी गर्दै बास्तोला पक्षको निर्णय वैधानिक हुन नसक्ने बताएका छन्। बास्तोला पक्षको यसबारे प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

अब पार्टीको आधिकारिक नेतृत्व, केन्द्रीय समितिको वैधानिकता र राष्ट्रिय सम्मेलनको प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय मुख्य चासोको रूपमा देखिएको छ। विवाद समाधानका लागि दुवै पक्षबीच सहमति वा पार्टीको निर्धारित प्रक्रियाबाट निर्णय हुन सक्ने संभावना भने कम्जोर देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार