राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर नेपाल कम्युनिस्ट पार्टी भित्र असन्तुष्टि चुलिँदै गएको छ।
ओलीको भूमिकाप्रति शीर्ष नेताहरु समेत पार्टी सञ्चालन र सांगठनिक एकीकरण तथा राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा अध्यक्ष असन्तुष्ट देखिएका छन्।
सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यले पार्टी एकीकरणभन्दा अन्य विषयलाई नै ओलीले प्राथमिकतामा राखेको भन्दै ओलीको आलोचना गर्न थालेका छन्।
ओली कार्यशैलीबाट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत सन्तुष्ट नरहेको स्रोत बताउँछ। छलफल नै नगरी महत्वपूर्ण विषयमा एक्लै निर्णय गर्ने ओलीको कार्यशैलीप्रति संकेत गर्दै दाहाल निकट एक नेताले भने, ‘पछिल्लो समय उहाँ (ओली) को कार्याशैलीमा समस्या देखिन थालेको छ, उहाँको कार्यशैलीप्रति अध्यक्ष दाहाल पनि असन्तुष्ट हुनुहुन्छ।’
सांगठानिक एकीकरण, नेताहरुको जिम्मेवारी बाँडफाँट र पार्टी परिचालन विषय प्रधानमन्त्रीको प्राथमिकतामा नपर्दा पार्टी गतिविधि ठप्प भएको नेताहरुको आरोप छ। यो खबर आजको नागरिक दैनिकमा वसन्त खतिवडाले लेखेका छन्।
हालै काठमाडौंमा आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्रीको भूमिकालाई लिएर पनि नेकपाभित्र असन्तुष्टि बढेको छ। पार्टीमा पर्याप्त छलफल नगरी उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले सहभागिता जनाएका कारण दाहाल पनि असन्तुष्ट रहेको स्रोत बताउँछ।
‘सरकार र पार्टीलाई समेत असर पुग्नेगरी कार्यक्रममा प्रधानमन्त्रीको भूमिका नदेखियोस् भन्ने दाहालको चाहना थियो तर त्यसको ठिक उल्टो भयो। ओलीका कारण पार्टी र सरकारको आलोचना हुन थालेपछि दाहाल पनि असन्तुष्ट हुनुहुन्छ,’ दाहाल निकट ती नेताले भने।
एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्रीको भूमिकालाई लिएर नेकपाका नेताहरु भीम रावल, घनश्याम भुसाललगायतले सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन्। नेकपा सचिवालय सदस्य झलनाथ खनाल, अर्का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत प्रधानमन्त्रीसँग असन्तुष्ट देखिएका छन्।