राजनीति
कोरोना संक्रमणका बेलादेखि बन्द उत्तरी छिमेकी चीनसँग जोडिएको संखुवासभाको किमाथांका र ताप्लेजुङको टिप्ताला नाका चार वर्षपछि सुचारु गर्न चिनियाँ राजदूत छन सोङ्ग आज स्वदेश गएका छन् ।
छङ्तु हुँदै तिब्बती बाटो भएर उच्चपदस्थ चिनियाँ पदाधिकारीहरुसहित उनी पर्सि शनिवार नेपाल-चीन सीमा नाकामा आइपुग्नेछन् । नाका सुचारु गरिवरी बल्ल १४ गते सोमबार नेपाल फर्कने उनको कार्यक्रम छ ।
कोरोना संक्रमण फैलिने डरका कारण चीनले ०७७ देखि किमाथांका नाका बन्द गरेपछि आवतजावत ठप्प थियो । नाका बन्द हुँदा भोटखोलावासी सबैभन्दा बढी समस्यामा परेका थिए । नेपाल सरकारका तर्फबाट भएको पटक-पटकको आग्रहमा चीन सहमत भएपछि पर्सि शनिवारदेखि नाका खुल्ने निश्चित भएको हो।
नाका खुलाउन चीनका तर्फबाट औपचारिक रूपमा निमन्त्रणा आएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । शनिबार औपचारिक कार्यक्रमका बीच नाका खोल्ने तयारी छ । दुवै मुलुकका उच्चपदस्थ अधिकारीको सहभागितामा नाका सूचारु गरिने सिडिओ खड्काले जानकारी दिए ।
कार्यक्रममा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ,कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीसहित गृह र परराष्ट्रका अधिकारी सामेल हुनेछन् । ‘नेपालको १४ वटा नाका एकैपटक खुला गर्ने योजना छ । तीमध्ये ११ वटा नाका कोशी प्रदेशभित्रै पर्नेरहेछ,’ खड्काले भने ।
०३५ मा किमाथांका भन्सार कार्यालय स्थापना भएको थियो । सशस्त्र द्वन्द्वका कारण भोटखोला गाउँपालिकाको केन्द्र हटियामा रहेको सीमा भन्सार कार्यालय ०५७ देखि सदरमुकाम खाँदबारीमै छ । लामो प्रयासपछि नाका खुला हुने औपचारिक रूपमा जानकारी आएको प्रभावित क्षेत्र भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए ।
चौतर्फी पहलपछि मात्रै नाका खुलाउन सम्भव भएको उनले बताए । सदरमुकाम खाँदबारीदेखि १६२ किमी उत्तरमा रहेको किमाथांका नाका खुल्ने भएपछि भोटखोलावासी खुशी भएका छन् ।
किमाथांका नाका खुलाउन सीमा प्रशासन कार्यालयले यसअघि नै ६ सय ४० जना भोटखोलाका स्थानीयलाई अस्थायी प्रवेशपत्र वितरण गरिसकेको छ । सो प्रवेशपत्रका आधारमा पालैपालो चीन प्रवेश र आवतजावत गर्न पाइने बताइएको छ ।