राजनीति
काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न आज काठमाडौं आइपुग्दै छन् । चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ गत जनवरी महिनाको शुरुमा राजदूत नियुक्त भएका हुन् ।
नेपाल आइपुगेलगत्तै चाङले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । भोलि शनिबार,पर्सि महाशिवरात्री, बुधबार ग्याल्बो ल्होसार, बिहिबार प्रजातन्त्र दिवस र ९ गते शनिबार बिदा छ । फागुन १८ गते फागु पूर्णिमाको बिदा छ भने लगत्तै चुनावको माहौल हुने भएकाले यसबीच ओहोदाको प्रमाणपत्र प्रस्तुत गरिने बताइएको छ । आगामी मंगलबार चीनको परम्परागत नयाँ वर्ष र वसन्त चाड शुभारम्भ हुँदैछ ।
चाङ माओमिङले यसअघि तीन वर्षे कार्यकाल पूरा गरेर पदोन्नतिसहित स्वदेश फर्किएका पूर्व राजदूत छन् सोङलाई बदली गर्न लागेका हुन् । हाल परराष्ट्र मन्त्रालयको नीति योजना विभागमा महानिर्देशकका रूपमा कार्यरत सोङको विभागले विश्व परिस्थितिको अध्ययन,अन्तर्राष्ट्रिय सम्बन्धका रणनीतिक विषयहरूको विश्लेषण,कूटनीतिक नीति निर्माण तथा महत्वपूर्ण कूटनीतिक दस्तावेज र वक्तव्यको तयारी गर्दछ ।
नवनियुक्त राजदूत चाङ पनि नेपालको राजनीति तथा कूटनीतिक वृत्तमा परिचित नाम हो । यसअघि विभिन्न राजनीतिक भेटघाट र समारोहमा चाङको नेपाली राजनीतिक नेतृत्व तथा उच्च अधिकारीहरूसँग पटक–पटक भेटवार्ता भइसकेको छ । दुई बर्षअगाडि एउटा उच्चस्तरीय डेलिगेशनमा मिसिएर आएका उनी नेपालको आन्तरिक तथा वाह्य मामिलाबारे जानकारी राख्ने कूटनीतिज्ञका रूपमा परिचित छन् ।