logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भारतमा ‘लू’ र इन्सेफ्लाईटिसले २०० भन्दा बढीको मृत्यु


  • सुरेशराज न्यौपाने
  • मंगलबार, असार ३ २०७६

नयाँदिल्ली — अत्यधिक गर्मीका कारण भारतका बिहार, उत्तरप्रदेश, राजस्थान, दिल्ली, मध्यप्रदेश लगायतमा दैनिक जीवनयापन निकै कष्टकर बनेको छ । उच्च तापक्रमका कारण तातो हावा (लू) चल्नाले मानिसको दैनिकी कष्टकर बन्नुका साथै कैयौंले ज्यान गुमाएका छन् । सुरेशराज न्यौपानेले आजको कान्तिपुरमा लेखेको छ।

भारतीय सञ्चारमाध्यमहरूले गर्मीकै कारण फैलिएको मस्तिष्क ज्वरो (इन्सेफ्–लाइटिस) कारण बिहारमा मात्र थप एक सय बालबालिकाको ज्यान गएको छ ।

सरकारी तथ्यांकअनुसार सन् २०१० देखि २०१८ सम्म भारतमा लूका कारण ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । सन् २०१५ मा सबभन्दा बढी अर्थात् २ हजारभन्दा बढीको मृत्यु भएको थियो । यस वर्ष दिल्ली, बिहार, उत्तरप्रदेश, राजस्थान, मध्यप्रदेशका अधिकांश भागमा करिब दुई सातासम्म तापक्रम ४५ डिग्रीभन्दा माथि उक्लिएको थियो ।

मौसमविद्हरूले विगतका वर्षको तुलनामा यस वर्ष मनसुन केही पर धकेलिएकाले चर्को गर्मी भएको जनाएका छन् । अघिल्लो सोमबार दिल्लीको तापक्रम ४८।४ डिग्री थियो । यो २६ जुन १९९८ को अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रमभन्दा ०।४ डिग्रीले कम हो । तर जुन महिनाको तापक्रमलाई हेर्ने हो भने दिल्लीमा हालसम्मकै बढी गर्मी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएकाछन् । त्यसैगरी, गतहप्ता नै उत्तरप्रदेशको बान्दामा ४९।२ डिग्री, प्रयागराजमा ४८।९ डिग्री मापन गरिएको थियो । साथै राजस्थानको चुरुमा त दुई दिनसम्म ५० डिग्री नाघेको जनाइएको छ ।

सोमबार बिहानसम्ममा गर्मीका कारण औरंगावादमा ३३, गयामा ३१, नवाडा १२ र जमुईमा २ जनाको मृत्यु भइसकेको छ । आइतबार मात्रै बिहारका औरगांवाद, गया र नवाडा जिल्लामा १७ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
उखरमाउलो गर्मीका कारण कतिपय राज्यमा विभिन्न रोगको प्रकोप पनि देखिएको छ ।

उच्च गर्मीका कारण फैलिएको मस्तिष्क ज्वरो (इन्सिफ्लाइटिक्स) का कारण पछिल्लो एक साताभित्रै बिहारको मुजफ्फरपुरमा सयजना भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । मुजफ्फरपुर लिचीका लागि चिनिएकालेसुरुमा बालबालिकाको मृत्युको कारण खाली पेटमा लिची खाएका कारण भएको आंशका गरिए पनि त्यसको वैज्ञानिक पुष्टि हुन सकेको थिएन ।

तर, पछि लिची नखाएका बालबालिकाको समेत मृत्यु भएपछि भने स्थानीय चिकित्सकले मस्तिष्क ज्वरोको आशंका गरेका थिए । बिरामी परेका करिब ३ सय बालबालिका अस्पतालमा उपचारा गराइएको छ । उच्च ज्वरो आएर अस्पताल पुर्‍याइएका बालबालिकाको उपचारका लागि स्थानीय अस्पतालमा पर्याप्त जनशक्ति र साधन नहुँदा धेरैको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

ठूलो संख्यामा बालबालिकाको ज्यान गएपछि नीतिशकुमार नेतृत्वको बिहार राज्य सरकारले चौतर्फी आलोचनाको सामना गर्नुपरेको छ । बालबालिकाको मृत्यु हुने क्रम नरोकिएपछि केन्द्रिय स्वास्थ्य मन्त्री डा। हर्षवर्द्धन आफै मुजफ्फरपुर पुगेका थिए ।

यसैबीच, गर्मीका कारण ज्यान गुमाएकाको परिवारलाई राज्य सरकारले राहत स्वरूप ४ लाख भारु दिने घोषणा गरेको छ । सअघि सन् २०१४ मा पनि मुजफ्फरनगरमै यस्तै किसिमको रोगले करिब २ सयभन्दा बढी बालबालिकाको ज्यान गएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार